अस्पताल बनाउन नुवाकोटमा श्रीमद्भागवत सप्ताह महायज्ञ
नुवाकोट,कात्तिक २० । त्रिदेशीय मार्गअन्तर्गत नुवाकोटको महादेवफाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनका उद्देश्यसहित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सुरु गरिएको छ। महायज्ञबाट संकलन हुने नगद तथा जिन्सी सहयोग सीधे अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ।
वेलकोटगढी नगरपालिका–७, जरुवावगरमा सात दिनसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन बुधबार मेयर जगतबहादुर गुरुङले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गुरुङले वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी त्रिदेशीय मार्गको बीच क्षेत्रमा पर्ने महादेवफाँटमा वर्षौंदेखि अस्पताल आवश्यक रहेको बताउनुभयो।महायज्ञबाट संकलित रकमले अस्पताल सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ। नगरपालिका कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत मेयर गुरुङले जनाउनुभयो।
चर्चित भागवत वाचक राधिका दासीद्वारा दैनिक कथा वाचन भइरहेको महायज्ञ कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ। भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालका अनुसार “स्वास्थ्यमा दान महान्” भन्ने प्रेरणा सहित आयोजना गरिएको महायज्ञको पहिलो दिन वृहत् कलश यात्रा, झाँकी तथा बजार परिक्रमा गरिँदै विधिवत् शुभारम्भ गरिएको हो।
उपमेयर शिवप्रसाद दाहालले महादेवफाँटमा अस्पताल आवश्यकताको विगतका दुखद घटनाले प्रमाणित गरेको भन्दै नगरपालिका, सामाजिक संस्था तथा स्थानीय समुदायबीचको सहकार्यले उद्देश्य सफल हुने विश्वास व्यक्त गर्नुभयो। वडाध्यक्ष भुवनेश्वर नेपालका अनुसार महायज्ञ सफल बनाइ महादेवफाँटमा आधुनिक सामुदायिक अस्पताल सञ्चालन गर्ने मुुल लक्ष्यसहित स्थानीय स्तरमा व्यापक तयारी गरिएको छ।
महायज्ञमा न्यु भिजन यूथ क्लबसहित विभिन्न संघ–संस्थाको सक्रिय सहकार्य रहेको छ। आयोजकहरूले महायज्ञ सफल पार्न सबै सरोकारवाला निकाय, स्थानीय समुदाय तथा भक्तजनलाई सहयोगका लागि आग्रह गर्दै पितृ उद्धार तथा पुण्य प्राप्तिका लागि दान गर्न अपिल गरेका छन्।
अस्पताल निर्माण सम्पन्न भएपछि नुवाकोट र धादिङका पूर्वी भेगका नागरिकलाई उपचारमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ। त्रिदेशीय मार्गमा बढ्दो दुर्घटना तथा स्वास्थ्य सेवा अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थाले नै अस्पताल निर्माण अभियान अघि सारिएको आयोजक अध्यक्ष दामोदर नेपालले बताए।

