एमाले नुवाकोटको तीन चरणको जनप्रदर्शन र जनसभा कार्यक्रम सुरु
नुवाकोट,कात्तिक २० । नेकपा एमाले नुवाकोटले देशव्यापी अभियानअनुसार जिल्लामा तीन चरणमा जनप्रदर्शन तथा जनसभाका कार्यक्रम सुरु गरेको छ। जिल्लाभरका कमिटी र संरचना परिचालन गर्दै कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढाइएको एमाले (UML) नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो।
उहाँका अनुसार नुवाकोटका १२ स्थानीय तह र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै तीन चरणमा कार्यक्रम सञ्चालन गरिनेछ। एमाले नुवाकोटले कार्तिक २१ गते वडास्तरीय, कार्तिक २५ गते पालिकास्तरीय र कार्तिक २९ गते जिल्ला स्तरीय मुख्य जनसभा आयोजना गर्ने जनाएको छ।
एमाले नुवाकोटका सचिव शिवकुमार चित्रकारका अनुसार देशको स्वाधीनता, जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आवश्यक जनमत निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। सदरमुकाम विदुरमा हुने कार्तिक २९ को जिल्ला स्तरीय जनसभामा पार्टी केन्द्रीय नेतृत्वका एकजना पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस्तै, एमाले नुवाकोट सचिवालय सदस्य दीपक कार्कीले जनसभाका लागि केन्द्रीय पदाधिकारीलाई निमन्त्रणा दिने आन्तरिक तयारी भइरहेको बताए। पार्टीकेन्द्रको निर्देशनअनुसार “देशभक्त उठ, जनताको हितका लागि, लोकतन्त्र र राष्ट्रको रक्षा गरौँ” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा सुरु गरिएको अभियानमा नुवाकोटमा पनि जनस्तरमा उत्साहपूर्ण सहभागिता देखिएको एमाले (UML) नुवाकोटका उपसचिव राजेन्द्रप्रकाश पाण्डेले बताए।
एमाले नुवाकोटले आगामी कार्यक्रम सफल बनाउन संगठन, जनसंगठन तथा स्थानीय कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ।

