ओलीको आरोप– “देशलाई छाडा ढंगले चलाउन संसद भंग गरियो”
भक्तपुर,कात्तिक २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई मनोमानी रूपमा चलाउने उद्देश्यले संसद भंग गरेको आरोप दोहोर्याएका छन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा विघटनको पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन अघि बढाइने जानकारी दिए।
ओलीका अनुसार सरकारकै मनपरी र स्वेच्छाचारी कार्यशैलीका कारण देश संकटतर्फ धकेलिएको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै संवैधानिक व्यवस्थाको सम्मान हुने उनको भनाइ छ।
सरकारले गठन गरेको जनेजी आन्दोलन जाँचबुझ आयोगका विषयमा पनि उनी कडा आलोचनामा उत्रिए। पहिले नै फैसला सुनाइसकेको व्यक्तिलाई आयोगको अध्यक्ष बनाइएको टिप्पणी गर्दै ओलीले यस्तो “ड्रामा” का आधारमा आउने निर्णय नै अमान्य हुने स्पष्ट पारे।
ओलीले निर्वाचनको जनादेश प्राप्त सरकारले राजदूत फिर्ता गरेको निर्णयलाई पनि अवैधानिक भन्दै आलोचना गरे। यसबारे सर्वोच्च अदालतले दिएको आदेश समेत प्रधानमन्त्रीले उल्लङ्घन गरेको दाबी गर्दै उनी प्रधानमन्त्रीको चुनाव गराउने प्रतिबद्धतामै प्रश्न उठाउन सकिने बताउँछन्।
“अदालतमा आगो लगाउने समूहबाट बनेको सरकारले निरन्तर असंवैधानिक गतिविधि गरिरहेको छ,” ओलीले भने।
साथै, उनले नयाँ घोषित ‘नेपाली कम्युनिष्ट पार्टी’ को एकतालाई औपचारिकता मात्र भएको टिप्पणी गर्दै झलनाथ खनाल आफूलाई भेट्न आएको तर पदका विषयमा कुरा नमिलेपछि माओवादी केन्द्रसँग मिल्न गएको दाबी गरे। बुधबार प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरूले उक्त पार्टी घोषणा गरेका थिए।
ओलीले संविधान, लोकतन्त्र र राष्ट्रिय हित जोगाउन अब जनतासँगै सडक आन्दोलनमा उत्रने पार्टीको तयारी पूरा भएको पनि बताए।

