भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षमा निधन



काठमाडौं,कात्तिक २१ । भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण उनको मृत्यु भएको परिवारजनले पुष्टि गरेका छन्।

बिहीबार साँझ सास फेर्न गाह्रो भएपछि मुम्बईस्थित नानावती अस्पताल लैजाने क्रममा साँझ करिब ७ बजे उनको बाटोमै मृत्यु भएको उनका भाइ ललित पण्डितलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले जनाएको छ।

सन् १९७५ मा सञ्जीव कुमारसँगको चलचित्र ‘उल्झन’ बाट अभिनय यात्रा सुरु गरेकी सुलक्षणाले राजेश खन्ना, शशि कपूर, अमिताभ बच्चन, विनोद खन्नालगायत आफ्नो समयका चर्चित कलाकारहरूसँग काम गरेकी थिइन्। संकोच, हेराफेरी, खानदान, धरमकाँटा, दो वक्तकी रोटी, गोरा लगायतका चलचित्रमा उनको अभिनय देख्न पाइन्छ।

अभिनयसँगै पार्श्वगायिकाको रूपमा पनि उनले उत्तिकै सफल यात्रा बिताइन्। हिन्दी, बंगाली, मराठी, उडिया, गुजरातीलगायत विभिन्न भाषामा उनले धेरै लोकप्रिय गीतहरू गाएकी थिइन्।

हरियाणाको हिसारमा एक संगीतमय परिवारमा जन्मेकी सुलक्षणा शास्त्रीय संगीतका दिग्गज पण्डित जसराजकी भतिजी हुन्। उनका भाइ जतिन–ललित ९० को दशकमा चर्चित संगीत जोडी ‘जतिन–ललित’ को रूपमा नाम कमाएका थिए। उनकी बहिनी विजयता पण्डित पनि चर्चित अभिनेत्री हुन्।

उनको निधनसँगै भारतीय चलचित्र तथा संगीत क्षेत्रमा एक बहुमुखी प्रतिभाले विदा लिएको छ।

प्रतिक्रिया दिनुहोस्