छहरे-टोखा सडकखण्ड बन्द, पेट्रोल पम्प आसपासको बिग्रिएको बाटो तत्काल निर्माण गर्न स्थानीयको खवरदारी
नुवाकोट,कात्तिक २१। पुष्पलाल राजमार्ग अन्तर्गत नुवाकोट जिल्लाको लिखु गाउँपालिका– वडा नम्बर ६ थान्सिङ स्थित छहरे पेट्रोल पम्पदेखि १०० मिटर आसपासका क्षेत्रमा लामो समयदेखि बिग्रिएको सडकको अवस्था झन् दयनीय बन्दै गएको भन्दै स्थानीय जनअधिकारकर्मी र सर्वसाधारणले तत्काल निर्माण तथा मर्मतको माग गरेका छन्।
स्थानीयका अनुसार वर्षा यामपछि सडकमा खाल्डाखुल्डी बढ्दै गएको, धुलो–धुवाँले दैनिक यात्रुहरूलाई असहज बनाएको र सवारी सञ्चालनमा समेत जोखिम उत्पन्न भएको छ। बारम्बार गुनासो गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको आरोप स्थानीयवासीले लगाएका छन्।
“यात्री, विद्यार्थी, बिरामी बोकेका साधन सबै यसै बाटो प्रयोग गर्छन्। तर सडकको अवस्था दिनानुदिन खतरनाक बन्दै गएको छ। अब ढिला नगरी तत्काल निर्माण हुनुपर्छ,बिरोध स्वरुप बाटो बन्द गरिएको छ” स्थानीय जनसरोकारवालाहरूले संयुक्तरूपमा भनेका छन्।
उनीहरूले सडकको अव्यवस्थित अवस्थाले दुर्घटनाको सम्भावना बढाएको, इन्धन ढुवानी, सामग्री आपूर्ति तथा दैनन्दिन आवतजावतसमेत प्रभावित भएको जनाएको छन्।
सडक निर्माणका लागि जिम्मेवार निकायलाई पटक–पटक अनुरोध गरे पनि कुनै प्रभावकारी पहल नदेखिएको भन्दै स्थानीयले खवरदारी कार्यक्रम मार्फत यस समस्यालाई सार्वजनिक रूपमा उठाएका हुन्।
उनका अनुसार अविलम्ब सडक मर्मत–निर्माण नभए थप कडा आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।

