टोखा–छहरे सडक अनिश्चितकालीन रूपमा बन्द, यात्रु अलपत्र
नुवाकोट,कात्तिक २१ । टोखा–छहरे सडकखण्ड शुक्रबार बिहान १० बजेपछि स्थानीयहरूले अनिश्चितकालीन रूपमा बन्द गरेका छन्। लिखु गाउँपालिका–६ थान्सिङस्थित पेट्रोल पम्प आसपासको अत्यधिक बिग्रिएको सडक तत्काल मर्मत र पिच गर्ने मागसहित सर्वसाधारणले सडक अवरुद्ध गरेका हुन्।
बन्दका कारण रसुवा, त्रिशुली,विदुर, ढिकुरे, दुप्चेश्वरलगायत क्षेत्रबाट काठमाडौं जाँदै गरेका तथा काठमाडौंबाट नुवाकोटतर्फ फर्कने सवारीसाधन थान्सिङ फाटमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू मार्गमै अलपत्र परेका स्थानीयहरूले बताएका छन्।
स्थानीयका अनुसार वर्षायामपछि सडकमा खाल्डाखुल्डी बढ्दै गएको, धुलो–धुवाँको समस्या तीव्र बनेको र सवारी सञ्चालन निकै जोखिमयुक्त बनेपछि बाध्यतावश आन्दोलनमा उत्रनु परेको हो। बारम्बार गुनासो गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएकाले सडक बन्द गर्नुपरेको उनीहरू बताउँछन्।
स्थानीयहरूले बिग्रिएको सडक पिच गरेपछि मात्र आवागमन सुचारु गर्न दिने चेतावनी दिएका छन्। पुष्पलाल राजमार्गअन्तर्गत पर्ने यो सडक नुवाकोट–काठमाडौँ जोड्ने मुख्य मार्ग भएकाले बन्दका कारण जनजीवनमा प्रत्यक्ष असर परेको छ।
तत्काल निर्माण तथा मर्मत कार्य अघि नबढाए थप कडा आन्दोलनमा जानुपर्ने स्थानीयको चेतावनी छ। आन्दोलनका कारण सयौं सवारीसाधन बाटोमै रोकिएका छन् । भने स्थानीय प्रशासनले जिल्लाबाट थप सुरक्षाकर्मी मगाएको छ ।

