नुवाकोटको लिखुमा बृहत शिक्षा सम्मेलन, जन्मदर घट्दा विद्यालय मर्ज गर्ने अवस्था आयो- शिक्षा विद शर्मा



नुवाकोट,कात्तिक २१ — शिक्षा विद् महाश्रम शर्माले देशभर जन्मदर घट्दै जाँदा विद्यालयहरू मर्ज (एकीकृत) गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन्। शुक्रबार जिल्लाको लिखु गाउँपालिकाले आयोजना गरेको दोस्रो बृहत् शिक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

शर्माले विद्यार्थीको उमेर, रुचि र क्षमताअनुसार शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै “भविष्यको शिक्षा प्रणाली बालक–केन्द्रित र व्यवहारिक हुनैपर्छ” भन्ने धारणा राखे।

त्यस्तै, प्रेरणादायी वक्ता अभिशेख घिमिरेले विद्यार्थीको वास्तविक जीवन, परिवेश र मनोविज्ञान बुझ्न सके मात्रै शिक्षण प्रभावकारी र सार्थक हुने उल्लेख गरे।

कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर पछिल्लो समय उल्लेख्य रूपमा सुधार भएको दाबी गरे।

गाउँपालिकाका शिक्षा प्रमुख शेरसिंह रावतका अनुसार गत वर्ष पञ्चकन्या–घ्याङ्स्वारामा सुरु गरिएको सम्मेलन यस वर्ष सबैको सुझावअनुसार लिखु गाउँपालिका–३ स्थित चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालयमा सारेर गरिएको हो।

सम्मेलनमा लिखु गाउँपालिकाका १३ सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्