काङ्ग्रेस नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु



काठमाडौं,कात्तिक २२ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। कात्तिक दोस्रो सातादेखि उपचाररत रहेका आलमको काठमाडौं मेडिकल कलेज (केएमसी)मा गएराति २:५८ बजे मृत्यु भएको परिवार तथा निकटस्थले पुष्टि गरेका छन्।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई केएमसीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। यसअघि आलमलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पनि उपचार गराइएको थियो। मुटु–सम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

गत जेठमा नक्खु कारागारबाट रिहा भएलगत्तै उनलाई ब्रेन स्ट्रोक समेत आएको थियो।

आलममाथि २०६४ सालको संविधानसभा चुनाव तयारीका क्रममा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको गम्भीर आपराधिक आरोप थियो। सो अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैद को सजाय सुनाएको थियो।

उनको निधनसँगै लामो समयदेखि कानुनी तथा राजनीतिक विवादमा रहेर सार्वजनिक चर्चा बटुलेका आलमको जीवन यात्रा अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस्