पाँच वर्षदेखि रोकिएको नुवाकोट दुप्चेश्वरस्थित चन्द्रावती खोलाको पक्की पुल निर्माण पुनः सुरु
नुवाकोट,कात्तिक २२— नुवाकोटको उत्तरी भेगमा पर्ने चन्द्रावती खोलामा पाँच वर्षदेखि अलपत्र रहेको पक्की पुल निर्माण कार्य पुनः सुरु भएको छ। दुप्चेश्वर गाउँपालिका–५ बालकुमारी र वडा नं. ६ समुन्द्रटारलाई जोड्ने यो पुल २०७७ सालमै ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम अघि बढ्न सकेको थिएन।
निर्माण कार्य पुनः सुरु भएको निर्माण कम्पनी ड्रागन–रकडेल जेभीले जनाएको छ। समयमै काम नहुँदा स्थानीयवासी र जनप्रतिनिधि लगातार आक्रोशित हुँदै आएका थिए।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाका अनुसार पुल निर्माणमा ढिलाइका कारण स्थानीयले वर्षौंदेखि दैनिक आवागमनमा ठूलो समस्या भोग्दै आएका छन्। “पुल बन्द हुँदा बोट, जोखिमयुक्त वैकल्पिक बाटो र अस्थायी व्यवस्थामार्फत आवतजावत गर्नुपरेको थियो,” उनले बताए।
स्थानीयको दबाब, जनप्रतिनिधिको पहल र समन्वयपछि अखेर निर्माण कम्पनीले काम थालेको जनाइएको छ। यस अघि बागमती प्रदेश सदस्य एवम् पूर्व उपसभामुख राधिका तामाङसहितको टोलीले अनुगमन गरेको थियोे । पुल समयमा सम्पन्न भएपछि दुप्चेश्वर क्षेत्रका बासिन्दाको यात्रा सहज हुने र आर्थिक तथा सामाजिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

