नुवाकोटको लिखुमा दुईदिने बृहत् शैक्षिक सम्मेलन सम्पन्न, ‘लिखु शैक्षिक सुधार घोषणापत्र–२०८२’ जारी



नुवाकोट, कात्तिक २२ — नुवाकोटको लिखु गाउँपालिकामा आयोजित दोस्रो बृहत् शैक्षिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा शिक्षा विद् महाश्रम शर्माले देशभर जन्मदर घट्दै जाँदा विद्यालयहरू एकीकृत (मर्ज) गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै शिक्षा संरचना पुनर्समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

शुक्रबार सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विद्यार्थीको उमेर, रुचि र क्षमताअनुसार शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। “भविष्यको शिक्षा प्रणाली बालक–केन्द्रित र व्यवहारिक हुनुपर्छ,” उनले भने।

त्यस्तै, प्रेरणादायी वक्ता अभिशेख घिमिरेले विद्यार्थीको वास्तविक जीवन, परिवेश र मनोविज्ञान बुझेर मात्र शिक्षण प्रभावकारी बन्ने उल्लेख गरे।

कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर पछिल्ला वर्षमा उल्लेख्य रूपमा सुधार भएको दाबी गरे।

गाउँपालिकाका शिक्षा प्रमुख शेरसिंह रावतका अनुसार गत वर्ष पञ्चकन्या–घ्याङ्स्वारामा सुरु गरिएको सम्मेलन यस वर्ष सबैको सुझावअनुसार लिखु गाउँपालिका–६ चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा सारेर दुईदिने सम्मेलनका रूपमा आयोजना गरिएको हो।

सम्मेलनमा लिखु गाउँपालिकाका १३ सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो।

समापन सत्रमा ‘लिखु शैक्षिक सुधार घोषणापत्र–२०८२’ जारी गरिएको गाउँपालिकाले जनाएको छ। आयोजकले प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, विशेष अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, प्रदीप बम्जन, शिक्षा अभियन्ता अभिशेख घिमिरे, उपाध्यक्ष, जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालालाई आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्