नुवाकोटको काल्चेमा स्वास्थ्य चौकी भवन उद्घाटन, सयौं स्थानीयवासी लाभान्वित हुने अपेक्षा
नुवाकोट,कात्तिक २२ — तादी गाउँपालिका–१, काल्चेको दुर्गम बस्तीमा नेपाल ग्रिन तारा फाउन्डेसनको लगानीमा निर्माण गरिएको आधुनिक स्वास्थ्य चौकी भवन भव्य समारोहकाबीच उद्घाटन गरिएको छ।
शुक्रबार आयोजित विशेष कार्यक्रममा माओवादी नेतृ तथा बागमती प्रदेशसभा सदस्य राधिका तामाङले भवनको उद्घाटन गरेकी हुन्। स्थानीय आवश्यकता र स्वास्थ्य सेवाका आधारभूत सुविधासहित तयार गरिएको यो भवन सञ्चालनमा आएपछि बस्तीका सयौं नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा सहभागी स्थानीय बासिन्दाले नेपाल ग्रिन तारा फाउन्डेसनका संस्थापक अध्यक्ष टासि तेन्जिङ शेर्पा तथा अध्यक्ष निमा शेर्पाप्रति विशेष आभार व्यक्त गरेका थिए। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा फाउन्डेसनले पुर्याएको योगदान ऐतिहासिक रहेको उनीहरूको भनाइ थियो।
संस्थाका अनुसार चार कोठाको यो आधुनिक स्वास्थ्य चौकी भवन रु. ८५ लाख २५ हजार लागतमा निर्माण गरिएको हो।

