रुसको दागेस्तानमा निजी हेलिकप्टर दुर्घटना, पाँचको मृत्यु
रुस,कात्तिक २२— रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अस्पतालमा भर्ना गरिएका तीन जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भयो।
दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा पुगेर घाइतेहरूको अवस्था अवलोकन गरेका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अर्कोको मध्यम रहेको बताइएको छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्।
अधिकारीका अनुसार का–२२६ मोडलको उक्त निजी हेलिकप्टर ठोक्किँदा आगलागी भएको थियो र विमान पूर्णरूपमा ध्वस्त भएको थियो। प्राथमिक अनुसन्धानअनुसार उडानका क्रममा इन्जिनमा आगो लाग्नु दुर्घटनाको सम्भावित कारण मानिएको छ।
दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको हेलिकप्टर बसोबास नभएको घरमा ठोक्किएको उल्लेख गरिएको छ। दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी छ।

