गोरखामा बेमौसमी वर्षाबाट ४ हजार हेक्टर धानबाली नष्ट, किसानको झण्डै ३ करोड ५० लाख बराबर क्षति



सुलीकोट, कात्तिक २२ — गोरखा जिल्लामा केही दिनअगाडि परेको बेमौसमी वर्षाले किसानको वर्षभरिको मेहेनत र पसिनामा ठूलो क्षति पुयाएको छ। धान भित्र्याउने संवेदनशील समयमा परेकाे लगातार वर्षाका कारण जिल्लाका ११ मध्ये १० स्थानीय तहमा करीब ४ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। यसबाट किसानलाई करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

सबैभन्दा ठूलो क्षति गोरखा नगरपालिकाअन्तर्गत दरौदी फाँटमा पुगेको छ, जहाँ हजारौँ रोपनीमा लगाइएको धानबाली डुबानमा परेर नष्ट हुँदा किसान स्तब्ध बनेका छन्। कृषि ज्ञान केन्द्रका अर्थविज्ञ सुमन भट्टराईका अनुसार धान काट्ने तयारीमा रहेका र धानको पाँजा सुकाइरहेका धेरै किसानले मुसलधारे वर्षाका कारण थन्क्याउनै नपाई खेतमै झरेका बाला गुमाउनुपरेको छ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक–सुलीकोट, गण्डकी, सिरानचोक र भिमसेन थापा गाउँपालिकामा धानबाली सबैभन्दा धेरै नष्ट भएको स्थानीय तहहरूले दिएका तथ्याङ्कमा उल्लेख छ। गोरखामा लगाइएको १०,१४० हेक्टर धानबालीमध्ये ३० प्रतिशतभन्दा बढी क्षेत्रमा क्षति पुगेको जनाइएको छ।

केवल खेतमै मात्र होइन, भण्डारण गरिएको धानमा समेत पानी पस्दा कुहिने अवस्था समेत देखिएको छ, जसले किसानको संकट झन् गहिरिएको छ।

यसैबीच, स्थानीय तहका जनप्रतिनिधिहरूले किसानको क्षति मूल्याङ्कन गरी राहत प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन्। तर किसानहरूले तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने माग दोहोर्‍याइरहेका छन्।

“वर्षभरिको पसिना एक रातको पानीले बगायो,” गोरखा नगरपालिका–१० की कृषक कमला थापा मगरले आक्रोश व्यक्त गर्दै भनिन्, “यदि सरकारले तुरुन्त ध्यान नदिए, गोरखाका किसानमा खेती गर्ने हिम्मत नै बाँकी रहने छैन।”

हाल किसानहरू खेतको पानी घटाउने र बच्न सक्ने धान जोगाउन व्यस्त छन्। तर चिसो तथा उम्रिएको धान थन्काउनुपर्ने बाध्यताले थप चुनौती सिर्जना भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

बेमौसमी वर्षाले चुमनुब्री गाउँपालिका बाहेक बाँकी १० स्थानीय तहका धानबालीमा व्यापक क्षति पुर्‍याएको छ। किसानहरूले मौसमीय जोखिमसँग जुध्न किसानमैत्री नीतिहरू तत्काल आवश्यक रहेको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्