बिहार विधानसभा निर्वाचनका कारण धनुषाको भारतसँगको सीमा चार दिनका लागि बन्द हुने
जनकपुरधाम,कात्तिक २२— भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका कारण धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार सूचना जारी गर्दै आगामी कात्तिक २२ गते (शनिबार) साँझ ६ बजेदेखि २५ गते (मङ्गलबार) साँझ ६ बजेसम्म सीमा बन्द रहने जानकारी दिएको हो।
भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचन यही कात्तिक २५ गते तय भएको छ। निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सीमा बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सो अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा पूर्ण रोक लगाइनेछ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार सीमावर्ती क्षेत्रका बासिन्दालाई आवश्यक तयारी गर्न र प्रशासनले जारी गरेका निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता उच्च रहेकोले नेपाल–भारत सीमाक्षेत्रमा अनावश्यक आवतजावत नगर्न सबैलाई अनुरोध गरेको छ।

