राजावादी शाही युवाशक्ति नेपालद्वारा ‘जेनजी पुस्ता, जनता र राजा एक हौं’ नारासहित प्रदर्शन
काठमाडौं,कात्तिक २२— राजावादी संगठन शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने मुख्य नारासहित राजधानीमा प्रदर्शन गरेको छ।
शनिबार सामाखुसीबाट सुरु गरिएको र्याली सोरखुट्टेतर्फ बढ्दै गर्दा प्रहरीद्वारा रोकिएपछि सहभागीहरू वनस्थली तर्फ गएर सभामा परिणत भएका थिए।
प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री ओम प्रकाश अर्याल तथा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए। संगठनका सदस्यहरूका अनुसार देशभक्त युवा आवाजलाई सशक्त बनाउने तथा राजसंस्थाको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो।
सभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

