दुप्चेश्वर धामको भेटी शनिबार २ लाख ४० हजार ३१५ रुपैयाँ



नुवाकोट, कात्तिक २२ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा शनिबार एकैदिन भक्तजनले कुल रु. २,४०,३१५ (दुई लाख चालिस हजार तीन सय पन्द्र रुपैयाँ) भेटी अर्पण गरेका छन्।

दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार सोही दिन डिजिटल भुक्तानी मार्फत रु. १२,५३० र मध्यान्ह आरतिबाट रु. १,२३,४३५ संकलन भएको हो । धाममा दैनिक रूपमा भक्तजनको उपस्थिति बढ्दै गएसँगै भेटी संकलनको मात्रा पनि उल्लेख्य रूपमा बढिरहेको कोषले जनाएको छ।

धामका कोषाध्यक्ष राजकुमार श्रेष्ठले भेटी गणनाको सम्पूर्ण प्रक्रिया पारदर्शी ढङ्गले भइरहेको बताउँदै इच्छुक भक्तजनलाई दैनिक बेलुका ५ बजे हुने भेटी गणनामा सहभागी हुन आग्रह गरेका छन्।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको दुप्चेश्वर धाममा अहिले दैनिक पूजाआजा, आरति तथा भेटी व्यवस्थापन दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा सुव्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्