बेलकोटमा अस्पताल बनाउन देवकी नेपालले दिइन ४० लाख बराबरको जग्गा, हालसम्म २५ लाख ६४ हजार संकलन
नुवाकोट,कात्तिक २२ । नुवाकोटको बेलकोटगढीमा अस्पताल निर्माणका लागि श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ ।
बेलकोटगढी नगरपालिका ७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माण अभियानलाई सशक्त बनाउन स्थानीय महिला बेलकोटगढी नगरपालिका–७, खाल्टेकी देवकी नेपालले उदार योगदान गर्दै ८ आना १ पैसा १ दाम जग्गा प्रदान गरेकी छिन्। महादेवफाँटस्थित सो जग्गाको मूल्य रु ४० लाख बराबर पर्ने बताइएको छ।
अस्पताल निर्माणलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो योगदानले स्थानीय स्वास्थ्य सेवा विस्तारमा नयाँ आशा थपेको छ।
यसैबीच, बेलकोटगढी नगरपालिकाका मेयरजगतबहादुर गुरुङले एक वर्षको सेवासुविधा वापतको सम्पूर्ण रकम अस्पताल निर्माणमा दिने घोषणा गरेका छन्। साथै, हालसम्मको नगद दान संकलन रकम रु २५,६४,२७३ पुगेको आयोजन समितिका सदस्य रमेश अधिकारीले बताए ।
स्थानीयवासी, दानदाताहरू र आयोजनामा संलग्न संस्थाहरूले सामूहिक सहयोगमार्फत अस्पताल निर्माण अभियानलाई सफल बनाउन निरन्तर योगदान दिइरहेका छन्। यही कात्तिक २५ गतेसम्म हुने महायज्ञमा चर्चित वाचिका राधिका दासीले वाचन गर्दै आएकी छिन् ।

