राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको ७औँ अधिवेशन सम्पन्न, सन्तोषी के.सी. अध्यक्षमा निर्विरोध
नुवाकोट,कात्तिक २२— राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, नुवाकोट जिल्ला कार्यसमितिको ७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन्तोषी के.सी. प्रतिष्ठानको अध्यक्ष पदमा निर्विरोध चयन भएकी छन्। चुनावी प्रक्रियामा सबै सदस्यहरूको एकमत समर्थन प्राप्त गरेपछि उनले पदभार सम्हाल्ने जिम्मेवारी पाएकी हुन्।
अध्यक्षमा चयनपछि सन्तोषी के.सी.ले विश्वास र सहयोगका लागि सबै प्रति आभार व्यक्त गर्दै नुवाकोटको लोक–संस्कृति, लोकगीत तथा दोहोरी परम्परालाई अझ संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन्। उनले संस्थाका संस्थापक र अग्रजहरू प्रति विशेष सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि मार्गदर्शन र साथको अपेक्षा राखिन्।
अधिवेशनमा संस्थाका अग्रज तथा संस्थापक किरण अधिकारी, दामोदर खतिवडा, उद्धव कार्की र सुवास शर्मालाई सम्मान गरिएको थियो। नवीन नेतृत्वसँगै प्रतिष्ठानलाई अझै सशक्त र सक्रिय बनाउने लक्ष्यसहित अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
अधिवेशनबाट पदाधिकारीहरू पनि चयन गरिएको छ। निवर्तमान अध्यक्ष विमला बस्नेत, प्रथम उपाध्यक्ष राजु रिजाल, द्वितीय उपाध्यक्ष अर्जुन कोइराला, महिला उपाध्यक्ष मन्दाकिनी रिमाल, सचिव रमेश गिरी, सह–सचिव सृजना नेपाल, कोषाध्यक्ष सरोज जंग थापा, सह–कोषाध्यक्ष वासु कोईराला तथा सदस्यहरूमा दुर्गा थापा, सुनिता सिलवाल (पाण्डे), कल्पना घिमिरे, साबित्री बख्रेल, पवित्रा ओझा, गोमा अधिकारी र सारदा बस्नेत चयन भएका छन्। बाँकी सदस्यहरूलाई भने छिट्टै मनोनयन गरी जिम्मेवारी तोक्ने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका पदाधिकारी तथा अग्रजहरूका अनुसार यस अधिवेशनले नुवाकोटमा शक्तिशाली र समावेशी सांगीतिक नेतृत्व निर्माण गरेको छ, जसले स्थानीय कलाकार, गीत–संगीत र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
सम्पूर्ण पदाधिकारी, सदस्य, अगुवा कलाकार तथा सहयोगीहरूलाई अध्यक्ष के.सी.ले पुनः धन्यवाद दिँदै सहकार्य र एकताका माध्यमबाट नुवाकोटलाई सांगीतिक रूपमा थप समृद्ध बनाउने प्रतिज्ञा व्यक्त गरेकी छन्।

