दाङमा जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु



दाङ,कात्तिक २३— गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। मृत्यु भएकी बालिका गढवा–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

राष्ट्रव्यापी रूपमा कात्तिक २० र २१ गते सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमका क्रममा बिहीवार गढवा–४ रामनगरमा बालिकालाई औषधि खुवाइँदै गर्दा औषधि घाँटीमा अड्किएको प्रहरीले जनाएको छ। औषधि अड्किएपछि तुरुन्तै सास रोकिएर केही मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि अड्किँदा श्वासप्रश्वासमा समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ। घटना प्रारम्भिक अनुसन्धानमै रहेकाले तत्काल सार्वजनिक नगरिएको बताइएको छ।

बालिकाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पोष्टमार्टम गरिएको तथा शव परिवारलाई बुझाइएको प्रहरी निरीक्षक बमले बताए। उनले भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउँदा अत्यधिक सावधानी अपनाउनुपर्नेमा जोड दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्