असोजको भारी वर्षाले कृषि क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति



काठमाडौं,कात्तिक २३ । नेपालमा गत असोजमा परेको अविरल वर्षाले कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर जम्मा तीन अर्ब ५५ करोड रुपैयाँको क्षति भएको छ।

मन्त्रालयका मातहतका प्रदेशस्तरीय कृषि कार्यालयहरूले स्थानीय तहको समन्वयमा संकलन गरेको तथ्यांकअनुसार कृषि बाली, पशुपन्छी, पूर्वाधार तथा बीउबिजन सबै क्षेत्रमा व्यापक असर पर्न पुगेको छ। खेतमा काटेर राखिएको धान पानीमा भिजेर कुहिनु, उठाउन नपाउनु र बाली प्रत्यक्ष नष्ट हुनु प्रमुख कारण बनेका छन्। यसले धान उत्पादनमै कमी आउने अनुमान गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

जोशीका अनुसार प्रभावित किसानलाई सहयोग, सुविधा तथा कृषि बीमा सहजीकरणका लागि मन्त्रालयले राष्ट्रिय विपद् प्राधिकरणसँग समन्वय सुरू गरिसकेको छ। क्षतिको विस्तृत विश्लेषणका लागि मन्त्रालयले कार्यदल गठन पनि गरेको छ।

मन्त्रालयसँग उपलब्ध बजेट पर्याप्त नहुँदा राहत तथा सहयोग विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीमा वितरण गरिने छ। किसानलाई मल, बीउबिजन, प्रविधि तथा प्राविधिक सीपलगायत सहयोग उपलब्ध गराइने पनि बताइएको छ।

यस्तै, आगामी दिनमा संकलित तथ्यांकका आधारमा जोखिम न्यूनीकरण, अध्ययन–अनुसन्धान तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्