‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
काठमाडौं,कात्तिक २३ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ ।
विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा थिए भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियोे ।
उहाँले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताउनुभयो ।
आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गर्नुभयो ।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानसंगै नियमित उडान भएको उनले बताए ।

