नुवाकोटको काल्चेमा आधुनिक स्वास्थ्य चौकी भवन सञ्चालनमा, गाउँवासीलाई सहज स्वास्थ्य सेवा
नुवाकोट,कात्तिक २३ । नुवाकोटको तादी गाउँपालिका–१ काल्चेमा गाउँवासीको स्वास्थ्य सुविधालाई लक्षित गर्दै आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। दुर्गम क्षेत्र मानिने काल्चेमा निर्मित भूकम्प प्रतिरोधी चार कोठे पक्की भवन औपचारिक रूपमा उद्घाटनसहित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।
नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन बागमती प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङले गरेकी हुन्। उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुग्नुपर्ने आवश्यकता दोहोर्याउँदै, नयाँ भवनमार्फत स्थानीयले सुलभ र प्रभावकारी उपचार सेवा पाउने विश्वास व्यक्त गरिन्। साथै, उनले स्वास्थ्यकर्मीहरूलाई उपलब्ध संरचनाको भरपुर सदुपयोग गरी गुणवत्तायुक्त सेवा दिन आग्रह गरिन्।
भवन हस्तान्तरणका क्रममा तादी गाउँपालिकाका प्रतिनिधि तथा नेपाल ग्रिनतारा फाउन्डेसनका संस्थापक अध्यक्ष टासितेन्जिङ शेर्पा र बन्दीनिमा शेर्पा लगायत उपस्थित थिए। फाउन्डेसनको सहयोगमा निर्माण गरिएको सो स्वास्थ्यचौकी भवन करीब ७५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको जनाइएको छ।
भवन सञ्चालनमा आएसँगै काल्चे तथा आसपासका बस्तीका बासिन्दाले अबदेखि गाउँमै बसेर प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।

