एनपिएल–२ अघि त्रिवि क्रिकेट रङ्गशाला आधुनिक बन्दै, फ्लड लाइटसहित रंगीन सिट जडानको काम अन्तिम चरणमा
काठमाडौँ, कात्तिक २३ । गत वर्ष नेपालमा आयोजना गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने अवसर दिएको थियो। विश्वस्तरीय खेलाडीहरूको आगमन, करोडौँको लगानी र स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारणका कारण पहिलो संस्करणले निकै चर्चा बटुलेको थियो। तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दर्शक व्यवस्थापन र पूर्वाधार कमजोर देखिएको थियो।
सरकार र नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा यिनै कमीहरू हटाइँदै एनपिएलको दोस्रो संस्करणका लागि त्रिवि रङ्गशाला आधुनिक स्वरूपमा रूपान्तरण हुँदैछ। यस पटकको प्रतियोगिता कृत्रिम प्रकाश (फ्लड लाइट्स) अन्तर्गत खेलाउने तयारी पूरा हुन लागेको क्यानले जनाएको छ। दर्शकका लागि रंगीन सिट जडानसहित स्टेडियम संरचना सुधार अधिकांश सम्पन्न भइसकेका छन् भने फ्लड लाइट्सका केही प्राविधिक काम मात्र अन्तिम चरणमा छन्।
सरकारले त्रिवि क्रिकेट मैदानलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गर्दै गुरुयोजना स्वीकृत गरेको एक महिना भएको छ। गुरुयोजनाअनुसार मैदानको विस्तार तथा स्तरोन्नतिमा करीब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खेलकुदमन्त्री बब्लु गुप्ताले पुनर्निर्माणले खेलाडीको मनोबल बढाएको बताउँदै मैदानलाई अझ उत्कृष्ट बनाउन क्यानसँग निरन्तर समन्वय भइरहेको बताए। सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएपछि खेलकुद पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा राखे।
त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरणको संरचना निर्माण लगभग पूरा भइसकेको छ। आउँदो मङ्सिर १ गतेदेखि सुरु हुने एनपिएल–२ लक्षित गर्दै काम तीव्र गतिमा अघि बढेको क्यानले जनाएको छ।
गत संस्करणमा दर्शकले घाँसमै बसेर र रुख चढेर खेल हेर्नुपरेको अवस्थालाई यसपटक अन्त्य गर्दै स्टेडियमलाई आधुनिक बनाइएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि मैदानलाई ‘नेपाली क्रिकेटको घर’ उल्लेख गर्दै पुनर्निर्माणको तेस्रो चरणपछि यो विश्वकै उदाहरणीय रङ्गशाला बन्ने विश्वास व्यक्त गरे।
तर उनले नेपालमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कम्तीमा चारवटा ठूलो रङ्गशाला आवश्यक रहेको उल्लेख गरे।
क्यानका सचिव पारस खड्काले फ्लड लाइट्स तीन–चार दिनमै पूर्ण रूपमा तयार हुने र सबै खेल कृत्रिम प्रकाशमै हुने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिए। नेपाल तेस्रो पटक टी–२० विश्वकपमा पुगेको उत्साहले पनि एनपिएलमा थप ऊर्जा भर्ने उनले बताए।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार त्रिवि क्रिकेट रङ्गशाला ‘ड्रिम प्रोजेक्ट’ हो। फ्लड लाइट्सका बत्ती ढिला भए पनि आवश्यक परे प्रतियोगिता तोकिएकै मितिमा सञ्चालन हुने उनले स्पष्ट पारे।
आधुनिक सुविधासहित तयार हुँदै गरेको त्रिवि क्रिकेट रङ्गशाला आगामी दिनमा नेपाली क्रिकेटको अभूतपूर्व उचाइको आधार बन्ने विश्वास व्यक्त गरिएको छ।

