वट्टारमा जारी अन्तरविद्यालय फुटबल प्रतियोगितामा चार खेल सम्पन्न, प्रतिभावान खेलाडी उदाउने आशा



नुवाकोट,कात्तिक २३ । विद्यालयस्तरमै खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले नुवाकोटको वट्टारमा सुरु भएको जिल्लास्तरीय यू–१४ छात्र–छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका चार खेल सम्पन्न भएका छन्। नुवाकोट फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा तीन खेल छात्र तथा एक खेल छात्रा तर्फबाट खेलिएको हो।

शनिबारको पहिलो खेलमा शहीद जगतप्रकाश जग शाह संस्कृत मावि र रणभुवनेश्वरी माविबीच १–१ गोलको बराबरी खेल भयो। शहीद जगतप्रकाश जगका साजन कुमाल र सुनील माझीले एक–एक गोल गरे भने रणभुवनेश्वरीका सुनील माझी म्यान अफ द म्याच घोषित भए।

स्व. अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन त्रिशूली माविले जालपादेवी बोर्डिङ स्कुललाई पराजित गर्यो। त्रिभुवन त्रिशूलीका सोहनराज घले, अजय तामाङ र सुदीप तामाङले एक–एक गोल गरे। जालपादेवीका कृष्ण रिमालले सान्त्वना गोल गरे। सुदीप तामाङ म्यान अफ द म्याच बने।

छात्राहरुबीचको तेस्रो खेलमा अर्किड एकेडेमीले दाङसिङ माविलाई २–० ले पराजित गर्दै अंक तालिका उकास्यो। अर्किडकी कृतिका लामा र जेनिशा श्रेष्ठले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए। जेनिशा श्रेष्ठ म्यान अफ द म्याच घोषित भइन्।

चौथो खेल अत्यन्तै एकतर्फी रह्यो। चन्द्रज्योति माविले स्पार्कल एकेडेमीलाई ९–० को विशाल अन्तरले पराजित गर्दै गोलको वर्षा गर्यो। चन्द्रज्योतिकाका सविन कुमालले पाँच गोलसहित ह्याट्रिक गरेका थिए भने सितलध्वज कुंवरले ह्याट्रिक र सितलकुमार डंगोलले एक गोल जोडे। म्यान अफ द म्याचको ट्रफी सितलध्वज कुंवरले हात पारे।

नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारका अनुसार प्रतियोगितामा २० वटा विद्यालय टोली सहभागी छन्। विद्यालयस्तरमै फुटबललाई सशक्त र प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यसले नयाँ प्रतिभावान खेलाडी पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

उक्त प्रतियोगिता मंसिर २ गतेसम्म नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान, वट्टारमा सञ्चालन हुनेछ भन्ने जानकारी उपाध्यक्ष अच्युतराज महन्त गिरीले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्