नुवाकोटमा पाँचकन्या मेलाको रौनक



नुवाकोट, कात्तिक २३ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित पञ्चकन्या मन्दिरमा आज आइतबार साँझदेखि पाँचकन्या मेला सुरु भएको छ। परापूर्वकालदेखि मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्दै आएको यो ऐतिहासिक मेला यस वर्ष पनि धुमधामका साथ मनाइँदैछ।

मूल व्यवस्थापन समितिका अनुसार मेलामा दर्शनार्थीको भीड लागेको छ। पाँचकन्या मन्दिर परिसर तोरण, रेलिङ, रंगरोगन तथा अन्य सजावटले झकिझकाउ बनेको छ। घलेभञ्ज्याङमा मेला भर्न आउने भक्तजनका लागि स्वागतद्वार निर्माण गरिएको छ ।

मेलाको पहिलो दिन आज स्थानीय झाँक्रीका विभिन्न टोली घरघरबाट सिँगारिएर मन्दिरसम्म नाच्दै पुग्ने परम्परा छ। पञ्चमीका दिन अपराह्न आफ्ना घर फर्कने यो संस्कार आज पनि उतिकै जीवित छ। स्थानीयको विश्वासअनुसार मन्दिरमा माडी, दियो र बत्ती बाल्दा मनोकांक्षा पूरा हुने मान्यता रहेको छ।

गाउँपालिका क्षेत्रसहित नुवाकोटका विभिन्न स्थान तथा काठमाडौं उपत्यकाबाट समेत ठूलो संख्यामा भक्तजन मेला भर्न आउने गर्दछन्। गत वर्षजस्तै यस वर्ष औपचारिक कार्यक्रम नहुने भए पनि विविध मनोरञ्जनात्मक गतिविधि रहने व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्