जर्मन संस्था ‘केयर फर चिल्ड्रेन’द्वारा नुवाकोटका विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
नुवाकोट, कात्तिक २३ । नुवाकोटका लिखु, ककनी, शिवपुरी र पञ्चकन्या गाउँपालिकाभित्रका विभिन्न विद्यालयलाई जर्मन संस्था केयर फर चिल्ड्रेन ले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले आइतबार मात्रै नुवाकोटका विद्यालयका ७१० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।
संस्थाले नुवाकोट तथा गोरखाका विभिन्न विद्यालय गरी कुल ७७० विद्यार्थीलाई पोशाक वितरण गरेको छ। त्यस्तै १०६ जना शिक्षक तथा २४ जना भान्सेलाई पनि न्यानो कपडा प्रदान गरिएको संस्थाले जनाएको छ।
केयर फर चिल्ड्रेनले विद्यालयमा दिवा खाजा, विद्यालय पोशाक, झोला, जुत्ता, स्टेशनरी सामग्री वितरण गर्दै आएको छ भने आवश्यक भौतिक संरचना निर्माणमा समेत आर्थिक सहयोग पुर्याउँदै आएको छ।
हालसम्म संस्थाले नुवाकोटका ककनी, पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विद्यालय तथा गोरखाका केही विद्यालय गरी १० विद्यालयलाई सहयोग प्रदान गरेको छ। संस्थाको कार्यक्रमबाट हालसम्म करिब १,००० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लाभान्वित हुनेमा विद्यार्थीका अतिरिक्त शिक्षक र अभिभावक समेत रहेका छन्।
विद्यार्थीहरूका लागि दैनिक खाजाको व्यवस्था गर्दै आएको संस्थाले प्रति विद्यार्थी रु.१५ को दरले खाजाखर्च उपलब्ध गराउँछ। विद्यालयहरूमा स्थायी भान्से नियुक्त गरिनुका साथै उनीहरूलाई पौष्टिक खाजा पकाउने तालिम समेत दिइएको छ। हालै शिवपुरी र पञ्चकन्याका ११ जना भान्सेलाई पाककला तालिम प्रदान गरिएको थियो।
उक्त तालिम प्रसिद्ध सेफ सुरेश गमालले सञ्चालन गरेका थिए। उनले बालबालिकाको स्वास्थ्यका लागि पौष्टिक र स्वच्छ भोजनको महत्त्वबारे व्यावहारिक सीपसमेत सिकाएका थिए।
सन् २००० बाट सुरु भएको संस्थाको दिवा खाजा कार्यक्रमले यस वर्ष २५ वर्ष पूरा गरेको छ। “हामी डोनेशन प्रणालीमार्फत देश-विदेशका सहयोगीहरूसँग सहकार्य गर्दै कार्यक्रम अघि बढाइरहेका छौं,” संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले बताए।
बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुधारको उद्देश्यका साथ केयर फर चिल्ड्रेनले सञ्चालन गर्दै आएको कार्यक्रमले ग्रामीण विद्यालयहरूमा उल्लेखनीय प्रभाव पारेको स्थानीयवासीले बताएका छन्।

