नुवाकोटका विद्यालयमा जर्मन संस्था ‘केयर फर चिल्ड्रेन’द्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण



नुवाकोट, कात्तिक २४ । नुवाकोटका लिखु, ककनी, शिवपुरी र पञ्चकन्या गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा जर्मन संस्था केयर फर चिल्ड्रेन ले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ। आइतबार मात्रै नुवाकोटका विद्यालयका ७१० विद्यार्थीलाई न्यानो पोशाक प्रदान गरिएको छ।

शिवपुरी गाउँपालिका–७ का ग्रामीणदेवी माध्यमिक विद्यालय, कुम्भेश्वर माध्यमिक विद्यालय, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को बच्छला माध्यमिक विद्यालय तथा लिखु गाउँपालिका–६ भट्टथोकस्थित सिद्धि गणेश आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीलाई न्यानो पोशाक वितरण गरिएको हो।

संस्थाले नुवाकोट र गोरखाका विभिन्न विद्यालय गरी कुल ७७० विद्यार्थीलाई न्यानो पोशाक तथा १०६ शिक्षक र २४ भान्सेलाई समेत न्यानो कपडा वितरण गरेको जनाएको छ। झण्डै १५ लाख रुपैयाँ खर्च गरेर सम्पन्न गरिएको यो कार्यक्रमले पहाडी गाउँपालिकाका बालबालिकालाई कठ्याङ्ग्रिने जाडोका बीच सहजै विद्यालय जाने वातावरण बनाउन मद्दत गरेको छ।

केयर फर चिल्ड्रेनले विद्यालयहरूमा दिवा खाजा, विद्यालय पोशाक, झोला, जुत्ता, स्टेशनरी सामग्रीलगायत सहयोग निरन्तर उपलब्ध गराउँदै आएको छ। आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत संस्थाले आर्थिक सहयोग पुर्‍याइरहेको छ।

हालसम्म संस्थाले नुवाकोटका ककनी, पञ्चकन्या, शिवपुरी, लिखु गाउँपालिकाका विद्यालय तथा गोरखाका केही विद्यालय गरी १० विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको छ। कार्यक्रमबाट करिब १,००० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा शिक्षक र अभिभावक समेत अप्रत्यक्ष लाभान्वित रहेको संस्थाले जनाएको छ।

विद्यार्थीलाई दैनिक खाजा उपलब्ध गराउँदै आएको संस्थाले प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजा खर्च उपलब्ध गराउँछ। विद्यालयमा स्थायी भान्से नियुक्त गरिनुका साथै उनीहरूलाई पौष्टिक खाजा पकाउने तालिम प्रदान गर्ने कार्य पनि भइरहेको छ। हालै शिवपुरी र पञ्चकन्याका ११ भान्सेलाई पाककला तालिम दिइएको थियो।

प्रसिद्ध सेफ सुरेश गमालले सञ्चालन गरेको तालिममार्फत बालबालिकाका लागि स्वास्थ्यकर र स्वच्छ भोजन कसरी तयार गर्ने भन्ने व्यावहारिक सीप सिकाइएको थियो।

सन् २००० बाट सुरु भएको दिवा खाजा कार्यक्रमले २५ वर्ष पूरा गरेको संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले बताए। “हामी देश–विदेशका सहयोगीहरूसँग सहकार्य गर्दै निरन्तर शिक्षा तथा पोषणको क्षेत्रमा योगदान गरिरहेका छौँ,” उनले भने।

संस्थाका अध्यक्ष अर्जुन थपलियाका अनुसार, ग्रामीण विद्यालयका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुधारमा यस कार्यक्रमले उल्लेखनीय प्रभाव पारेको छ।

प्रतिक्रिया दिनुहोस्