सामुदायिक अस्पताल निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा महायज्ञमा जग्गा दान गर्नेको संख्या बढ्दै
नुवाकोट, कात्तिक २४ । सामुदायिक अस्पताल निर्माणका लागि नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा सञ्चालन भइरहेको सप्ताह ज्ञान महायज्ञमा जग्गा दान गर्ने दाताको संख्या बढ्दै गएको छ। भिमेश्वर सामुदायिक संस्थाद्वारा आयोजित महायज्ञको पाँचौँ दिन आइतबार स्थानीय कल्याण नेपाल र उनका दाजु धुर्वप्रसाद नेपालले महत्वपूर्ण परिमाणको जग्गा दान गरेका हुन्।
कल्याण नेपालले २ रोपनी ५ आना जग्गा (मूल्य करिब रु ३७ लाख) र धुर्व नेपालले २ रोपनी (मूल्य अन्दाजी रु ३२ लाख) बराबरको जग्गा अस्पतालका लागि दान गरेको अस्पताल सञ्चालन तथा आर्थिक व्यवस्थापन समितिका संयोजक शम्भु सिग्देलले जानकारी दिए। यसअघि देवकी नेपालले पनि करिब रु ४० लाख बराबरको जग्गा दान गरिसकेकी छन्।
जग्गा दान गर्ने दाताहरूलाई बाजागाजासहित सम्मान गरिएको आयोजकले जनाएको छ। दान बढ्दै गएपछि सामुदायिक अस्पताल निर्माण सुनिश्चिततर्फ अघि बढेको आयोजकहरूको विश्वास छ।
कात्तिक १९ गतेदेखि चर्चित कथा वाचिका राधिका दासीको मुखारवृन्दबाट कथा बाचन भइरहेको महायज्ञमा नुवाकोट तथा धादिङका विभिन्न स्थानबाट भक्तजनको ठूलो सहभागिता रहेको छ। शुक्रबारसम्म २० हजारभन्दा बढी भक्तजन कथा श्रवणका लागि सहभागि भइसकेको आर्थिक उपसमितिका सदस्य रामचन्द्र नेपालको भनाइ छ।
महायज्ञमा भक्तजनबाट उत्साहजनक दान संकलन भइरहेको आर्थिक उपसमितिका संयोजक शम्भु सिग्देलले बताए। उनका अनुसार पाँचौँ दिनसम्म आइपुग्दा नगद मात्र करिब ५० लाख रुपैयाँ संकलन भएको छ र बेलुकासम्म कुल संकलन सार्वजनिक गरिनेछ।
राजनीतिक नेताहरू पनि महायज्ञमा पुगेका छन्। आइतबार माओवादी नेताहरू हितबहादुर तामाङ र विमला सुवेदी उपस्थित भएका थिए भने नेपाली कांग्रेस सभापति रमेश महतले पनि कार्यक्रममा उपस्थित भई शुभकामना व्यक्त गरेका छन्।
कात्तिक २५ गतेसम्म चल्ने महायज्ञका लागि बेलकोटगढी नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको छ। नगरपालिकाका मेयर जगतबहादुर लामाले एक वर्षको आफ्नो सम्पूर्ण सुविधा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।
त्रिदेशीय मार्गको बीचमा रहेको महादेवफाँट क्षेत्रमा सामुदायिक अस्पताल अपरिहार्य रहेको भन्दै स्थानीयवासी तथा दाताहरूले महायज्ञमार्फत सहयोगका प्रतिवद्धता निरन्तर व्यक्त गरिरहेका छन्।

