एमालेको ‘घर फर्क’ अभियान : रामकुमारी झाँक्री–किसान श्रेष्ठ सहित ठूलो संख्यामा नेता–कार्यकर्ता पुनः फर्किए



काठमाडौं,कात्तिक २४ । नेकपा (एमाले) ले अन्य दलतर्फ लागेका नेताहरूलाई पुनः पार्टीभित्र ल्याउने उद्देश्यसहित ‘घर फर्क अभियान’ सुरु गरेको छ। राष्ट्रिय सभा गृहमा आज आयोजित विशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै औपचारिक रूपमा स्वागत गर्नुभयो।

कार्यक्रममा एकीकृत समाजवादीबाट आएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाए। एमाले छाडेर समाजवादीमा गएकामध्ये केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, विभिन्न जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा आज पुनः एमाले प्रवेश गरेका छन्। सो अवसरमा फर्किएका नेताहरूको नामावली सार्वजनिक गरिएको थियो।

पार्टीका शीर्ष नेताहरूले ‘घर फर्क अभियान’ लाई संगठनभित्र पुनः एकता र सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। अध्यक्ष ओलीले फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गर्दै एमालेलाई अझ शक्तिशाली बनाउने प्रण व्यक्त गर्नुभयो।

राष्ट्रिय सभा गृह आज देशभरका नेता तथा कार्यकर्ताको उपस्थितिले खचाखच भरिएको थियो। कार्यक्रमस्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र पार्टीका झण्डाहरूले उत्सवमय वातावरण तयार पारेका थिए।

प्रतिक्रिया दिनुहोस्