‘विगत–वर्तमान दाँजेर ट्रोल गरे पनि स्वीकार्य छ, जनताको रक्षक एमाले हो’- रामकुमारी झाँक्री
काठमाडौं,कात्तिक २४ । तत्कालीन नेकपा एकीकृत समाजवादी त्यागेर पुनः नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगतका विवादहरूलाई स्वीकृति जनाउँदै अहिलेको राजनीतिक सन्दर्भमा एमाले नै जनताको भरोसाको पार्टी बनेको बताएकी छन्। राष्ट्रिय सभा गृहमा आयोजित ‘एमाले फर्क अभियान’ को विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले विगत र वर्तमानलाई दाँजेर ट्रोल गर्नेहरूलाई पनि आफू तयार रहेको उल्लेख गरिन्।
“मेरा तर्फबाट सयौँ क्यामेराहरू तेर्स्याएका छन्। तपाईंहरूले पक्कै विगत र आजलाई दाँजेर ट्रोल गर्नुहुन्छ होला, तर मलाई स्वीकार्य छ,” उनले भनिन्। उनका अनुसार फागुन २१ मा चुनाव भए–नभए पनि एमालेले जनतामाझ यस्ता सभाहरू र सन्देशमार्फत निरन्तर पुगिरहनुपर्ने आवश्यकता रहेको छ। “अहिलेको अवस्थामा भरोसा र जनताको रक्षक नै एमाले हो,” उनले जोड दिइन्।
‘बिना सर्त एमालेमा फर्किएको हुँ’
नेतृ झाँक्रीले चार वर्षअघि उत्पन्न राजनीतिक परिस्थितिका कारण आफूहरू अलगिएको भए पनि अहिले बिना कुनै सर्त पार्टीमा फर्किएको बताइन्। “चार वर्षअघि अलग भएका थियौँ, तर आज बिना सर्त एमालेमा फर्किएका छौँ। मसहित थुप्रै नेताहरू पनि फर्किएका छन्,” उनले भनिन्। उनका अनुसार आफू फर्किएपछि विभिन्न जिज्ञासा र प्रश्न उठिरहे पनि आगामी दिनले सबैलाई यसको उत्तर दिनेछ।
‘इतिहासका गल्तीहरूको सजाय समयलाई दिन तयार छु’
विगतका निर्णयबारे समीक्षा गर्दै उनले भनिन्, “इतिहासमा मेरो तर्फबाट जे भएको थियो, त्यो कालखण्डमा मलाई त्यही ठीक लागेको थियो। तर मबाट भएका कुराहरूको सजाय समयलाई दिन तयार छु।”
उनले वर्तमानमा आफूहरूमध्ये धेरैजना एउटै उद्देश्यसहित पुनः एकै ठाउँमा उभिएको बताइन्—कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने र देशलाई समृद्धितर्फ डोर्याउने लक्ष्यसहित।
जेनजी आन्दोलनबारे कडा टिप्पणी
झाँक्रीले पछिल्लो समय चर्चित ‘जेनजी आन्दोलन’ सम्वन्धमा कडा टिप्पणी गरिन्। उनले दुई महिनाअघि उत्पन्न अवस्थालाई स्मरण गर्दै भनिन्, “हामी कति आतंकित थियौँ। जसले हाम्रो घरमा आगो लगाउँदै, सिंहदरबार जलाउँदै, आज त्यही हुन सक्छ भन्ने कसैले सोचेका थिएनौँ।”उनका अनुसार जेनजीको नाममा भएका गतिविधि वास्तविक आन्दोलन नभई ‘सरकारविरोधी गतिविधि’ मात्र थिए।
“जेनजीको नाममा जे भइरहेको थियो, त्यो सबै सरकारविरोधी काम थियो। सरकारविरोधी थिएन भने सरकारसँग माग कसले राखेको थियो?” उनले प्रश्न गरिन्।
उनले जेनजी आन्दोलनमा स्वामित्व खोज्नेहरूले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतजस्ता संरचनामा भएको क्षय–क्षतिको कसरी बचाउ गर्छन्? भनेर चुनौती दिइन्। उनले सरकारी भवन, निजी सम्पत्ति तथा जिउँदो मानिससम्म जलाइएका घटनालाई ‘ठीक’ भनी व्याख्या गर्ने प्रयास हुँदै गएको आरोप लगाइन्।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले झाँक्रीको पुनरागमनलाई एमालेभित्र पुनःएकता र संगठन सुदृढीकरणको महत्वपूर्ण संकेतका रूपमा लिएका छन्।

