नुवाकोट जिलिङमा वर्षौंदेखिको खानेपानी समस्या समाधानतर्फ ५ वटा ट्यांकी निर्माण



नुवाकोट,कात्तिक २४ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८, जिलिङमा वर्षौंदेखिको खानेपानी अभाव समाधान गर्न वृहत् खानेपानी योजना सञ्चालन गरिएको छ। संघीय खानेपानी मन्त्रालयको बजेटमा सञ्चालन भएको योजनाअन्तर्गत पहिलो चरणमा पाँचवटा खानेपानी ट्यांकी निर्माण सम्पन्न भइसकेको वडाध्यक्ष सुरेशलाल चित्रकारले जानकारी दिए।

उनका अनुसार हालसम्म ठूलो खोलामा २० हजार लिटर, पाचखलेमा २० हजार लिटर, नयाँ बस्ती ज्यामिरेमा २० हजार लिटर, द्वारेथोकमा २० हजार लिटर र चिसापानीमा १५ हजार लिटर क्षमताका ट्यांकी निर्माण गरिएका छन्। आवश्यक पाइपसमेत खानेपानी कार्यालयले पठाइसकेको छ।

करीब एक करोड रुपैयाँ लागतमा सञ्चालन भएको यस योजनामा दोस्रो चरणअन्तर्गत थप तीनवटा खानेपानी ट्यांकी निर्माण कार्य जारी रहेको वडाध्यक्ष चित्रकारले बताए। दोस्रो चरणमा टोल–टोलमा पाइपलाइन विस्तारको काम पनि अघि बढाइने छ।

यो योजनाबाट बेलकोटगढी–८ का करिब २ सय घरधुरीका हजारौँ स्थानीयवासी लाभान्वित हुने छन्। पानीको दीर्घकालीन अभाव समाधान हुने अपेक्षा नगरपालिकाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्