सम्झौताभन्दा ८ महिना अघि नै बन्यो पक्की पुल



दैलेख,कात्तिक २५ । दैलेखको महावु गाउँपालिका छिर्ने प्रमुख नाका ताराघाट खोला पुल आठ महिने अवधिभन्दा छिट्टै निर्माण सम्पन्न भएको छ। सम्झौतामा तोकिएको समयभन्दा अघि नै पुल तयार भएपछि स्थानीयवासी खुसी भएका छन्।

पुल निर्माणअघि महावु क्षेत्रका बासिन्दा दैलेख सदरमुकाम आवतजावत गर्न खोलामै मोटरसाइकल तथा साना सवारी साधन हिँडाउनुपर्ने बाध्यता थियो। नयाँ पक्की पुल बनेपछि अब गाउँपालिकाका सबै वडाका नागरिकलाई सुरक्षित र सहज पहुँच सुनिश्चित भएको महावु–२ का वडाध्यक्ष प्रकाशराज थापाले बताए।

पूर्वाधार विकास कार्यालय दैलेख र आरबी कन्स्ट्रक्सन दैलेखबीच २०८१ वैशाख १७ गते सम्झौता भएको थियो। सम्झौता अनुसार २०८३ असार १५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने भनिए पनि निर्धारित म्यादभन्दा पहिल्यै पुल तयार गरिएको निर्माण कम्पनीका सञ्चालक रूपक थापाले जानकारी दिए।

आरबी कन्स्ट्रक्सनले ३ करोड ६२ लाख ७६ हजार ४ सय ६३ रुपैयाँ ७९ पैसामा (भ्याट सहित) पुल निर्माणको जिम्मा लिएको थियो। कम्पनीले काम समयमै सम्पन्न गर्ने परम्परा कायम राख्दै ताराघाट पुल पनि निर्धारित अवधिभन्दा छिट्टै पूरा गरेको सञ्चालक थापाले बताए। उनका अनुसार कम्पनीले समयमै काम सम्पन्न गर्दै आयपछि विभिन्न कार्यालयबाट पुरस्कृत हुँदै आएको छ।

पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रवीण कार्कीले कार्यालयका अन्य योजना सुस्त रहेको समयमा ताराघाट पुल समयअगावै सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको प्रतिक्रिया दिए।

स्थानियले अब सहज आवाजाइको सुविधा पाउने हुँदा पुल निर्माणलाई महावु क्षेत्रमा महत्वपूर्ण पूर्वाधार उपलब्धीका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्