मुगुमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
मुगु, कात्तिक २५ । गए राति मुगुमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोरु गाउँपालिकातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनामा बाजुरा, गौमुल गाउँपालिका–३ का झन्डै २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रहरी जवान बलवीर लावडले जानकारी दिएका छन्।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ हुँदा सवारी करिब ७०० मिटर तल खसेको बताइएको छ। दुर्घटनामा चालक रोकाया सडकतर्फै मृत भेटिएका छन् भने हुम्ला अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी गम्भीर घाइते भएका छन्।
घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालक र भण्डारी गरी दुई जनामात्र सवार रहेको पुष्टि गरिएको छ।

