बेलकोटगढी महायज्ञ समापन: समुदायिक अस्पताल निर्माणमा तारकेश्वरले दियो ५ लाख



नुवाकोट,कात्तिक २५ । नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा निर्माणाधीन सामुदायिक अस्पतालका लागि तारकेश्वर गाउँपालिकाले ५ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञको समापन समारोहमा उपस्थित भएर उक्त घोषणा गरेका हुन्।

अध्यक्ष अधिकारीले सीमावर्ती क्षेत्रमा बन्न लागेको सुविधा सम्पन्न अस्पतालबाट तारकेश्वरका स्थानीयवासी समेत लाभान्वित हुने उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट तत्काल ५,००,००० रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। साथै उनले स्वर्गीय पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको सम्झनामा व्यक्तिगत रूपमा ५१,११० रुपैयाँ दान गर्दै अस्पताल निर्माणमा आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने आश्वासन दिए।

समापन समारोहमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीसहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। भिमेश्वर सामुदायिक संस्थाद्वारा कात्तिक १९ गतेदेखि सञ्चालित महायज्ञ आज कात्तिक २५ गते सम्पन्न भएको हो।

आयोजकका अनुसार महायज्ञमार्फत झन्डै १ करोड रुपैयाँ नगद सङ्कलन भएको छ भने करिब ५ रोपनीजति जग्गा प्राप्त भएको छ। स्थानीय कल्याण नेपाल, धुर्व नेपाल र देवकी नेपालले जग्गा दान गरेका हुन्। साथै सयौँ भक्तजनहरूले तुलादानसहित विभिन्न माध्यमबाट आर्थिक योगदान गरेका छन्।

महायज्ञमा बेलकोटगढी नगरपालिकाले ३ लाख सहयोग गरेको छ। मेयर जगतबहादुर लामाले एक वर्षको सुविधाबाट करिब साढे ४ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, बेलकोटगढी नगरपालिकाका कार्यपालिका सदस्यहरूले सुविधावापतको रकम एकमुष्ट ७७ हजार ७ सय ७७ रुपैयाँ दान गरी उपमेयर शिवप्रसाद दाहालमार्फत हस्तान्तरण गरिएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्