नुवाकोटका १२ वटै पालिकामा एमालेद्वारा जनप्रदर्शन
नुवाकोट,कात्तिक २५ । नेकपा एमालेले मंगलबार देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत नुवाकोटका सबै १२ स्थानीय तहमा जनप्रदर्शन गरेको छ। देशमा प्रतिगामी षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधमा पार्टीले देशभर जनपरिचालन गर्ने निर्णयअनुसार नुवाकोटमा प्रदर्शन, जुलुस र जनसभाहरू आयोजित गरिएको हो।
एमाले नुवाकोटले विभिन्न पालिकामा जुलुस, कोणसभा र जनसभा गरी सरकार र चलिरहेको राजनीतिक प्रक्रियाप्रति जनचेतना अभिवृद्धि गर्न गतिविधि सञ्चालन गरेको सचिवालयले जनाएको छ। यसअघि नै वडास्तरदेखि पालिकास्तरसम्म कार्यक्रम गरिसकेको एमालेले कार्तिक २९ गते विदुरमा वृहत् जनसभाको तयारी गरिरहेको अध्यक्ष बद्री मैनालीले बताए।
पार्टीका केन्द्रीय सदस्य केशवराज पाण्डेका अनुसार एमालेले जिल्ला हुँदै राष्ट्रियस्तरमा एकीकृत जनप्रदर्शनका कार्यक्रम अघि बढाइरहेको छ। उनका अनुसार जनताले संवैधानिक प्रक्रिया र पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेको पक्ष बुझिरहेको दाबी छ।
यस्तै, अर्की केन्द्रीय सदस्य बिन्दा ढुंगानाले भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटनको विषय तथा पार्टीको आगामी रणनीतिबारे कार्यकर्तालाई जनसभामार्फत स्पष्ट पारिएको बताइन्। उनका अनुसार नुवाकोटका विभिन्न स्थानमा जुलुस, मोटरसाइकल र्याली र नारा जुलुसमार्फत संगठनको शक्ति प्रदर्शन गरिएको छ।
कार्यक्रमहरूमा जनतालाई सचेत पार्ने नारा लगाइएको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए। यस्तै, उपसचिव राजेन्द्रप्रकाश पाण्डेका अनुसार सहभागीहरूले जिल्लाका धेरै ठाउँमा प्रदर्शन, कोणसभा र जुलुस गर्दै वर्तमान राजनीतिक अवस्थाबारे धारणा जनता माझ राखेका छन्।

