प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान तीव्र
काठमाडौं,कात्तिक २६ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीसँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियानलाई तीव्र पारेको छ। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।
फागुन २० सम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूले भने निर्वाचन सम्पन्न भएपछि नाम दर्ता गराउन सक्ने व्यवस्था आयोगले स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले दैनिक ८०० भन्दा बढी व्यक्तिले नाम दर्ता गराइरहेका छन्। दर्ता कार्यलाई सहज बनाउन जिल्लास्तरमा दुई चरणमा ६/६ घण्टाको सेवा संचालन भइरहेको छ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा दर्ता कार्य थप प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना अतिरिक्त दर्ता कर्मचारी खटाइएका छन्।
अन्य जिल्लालाई भने सेवाग्राहीको चापका आधारमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।
आयोगले योग्य सबै नागरिकलाई तोकिएको म्यादभित्रै नाम दर्ता गराउन आग्रह गरेको छ।

