नयाँ दिल्लीमा कार बम विस्फोट: १३ को मृत्यु, २० भन्दा बढी घाइते



नयाँदिल्ली,कात्तिक २६ । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। सोमबार साँझ करिब ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको हुन्डाई आइ–२० मोडलको कारमा विस्फोट भएको दिल्ली प्रहरीले पुष्टि गरेको छ।

विस्फोट अत्यन्तै शक्तिशाली भएकाले आसपासका सवारीसाधन र भवनहरूमा समेत ठूलो क्षति पुगेको बताइएको छ। प्रारम्भिक फरेन्सिक रिपोर्ट अनुसार विस्फोटमा अमोनियम नाइट्रेट प्रयोग गरिएको छ।

कार सात पटक किनबेच, अन्तिम मालिक डा. उमर नबी

विस्फोटमा प्रयोग गरिएको कार हरियाणाको गुरुग्राममा एचआर–२६ नम्बरमा दर्ता भएको पाइएको छ। उक्त कारका पहिलो मालिक मोहम्मद सलमान रहेको खुलेको छ। कार सात पटकसम्म किनबेच हुँदै पछिल्लो समय डा. उमर नबी नामक व्यक्तिसँग पुगेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार डा. उमर कश्मीरका चिकित्सक हुन् र उनी जैश–ए–मोहम्मदसँग सम्बन्धित रहेको शंका गरिएको छ।

करिब २,९०० केजी शंकास्पद विस्फोटक बरामद

घटनासँगै जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा गरेको कारबाहीमा हरियाणाको फरीदाबादबाट करिब २,९०० केजी शंकास्पद अमोनियम नाइट्रेट, एके–४७ र अन्य हतियार बरामद गरिएको छ।

बरामद शंकास्पद सामग्रीमा ३६० केजी अमोनियम नाइट्रेट, एके–४७, बेरेट्टा पिस्तोल लगायतका हतियार रहेको अधिकारीहरूले बताएका छन्।उक्त बरामदगी उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ। सहारनपुरमा चिकित्सकका रूपमा कार्यरत राथरको बयानका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई समेत पक्राउ गरिएको छ। शाहीनलाई जैश–ए–मोहम्मदको महिला विभाग प्रमुखको रूपमा परिचालित गरिएको आशंका गरिएको छ।

उक्त बरामदगी उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ। सहारनपुरमा चिकित्सकका रूपमा कार्यरत राथरको बयानका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई समेत पक्राउ गरिएको छ। शाहीनलाई जैश–ए–मोहम्मदको महिला विभाग प्रमुखको रूपमा परिचालित गरिएको आशंका गरिएको छ।

पूर्वनियोजित आतंकवादी हमला

दिल्ली प्रहरीले यो घटनालाई आतंकवादी हमला मानेर गैरकानुनी क्रियाकलाप निवारण ऐन (UAPA) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
राष्ट्रीय अनुसन्धान एजेन्सी (NIA) र दिल्ली प्रहरीको विशेष शाखाले संयुक्त रूपमा अनुसन्धान अघि बढाइरहेका छन्। प्रारम्भिक फरेन्सिक प्रमाण तथा अनुसन्धानका आधारमा यो घटना संगठित आतंकवादी समूहद्वारा पूर्वनियोजित भएको सुरक्षा निकायहरूले निष्कर्ष निकालेका छन्।

भारत अघिल्लो मुम्बई २६/११, पुलवामा २०१९, पहलगाम २०२५ जस्ता आतंकी घटनाबाट चुनौती झेल्दै आएको छ। नयाँ दिल्लीको यो विस्फोटले फेरि पनि भारतको सुरक्षा प्रणालीमा गम्भीर चुनौती प्रस्तुत गरेको विश्लेषण भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्