मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, काठमाडौँमा पानी पठाउने मार्ग खुला
काठमाडौं,कात्तिक २६ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेरसम्म चलेको छलफलपछि काठमाडौँमा मेलम्चीको पानी पठाउने विषयमा रोक बनेको समस्या हटेको हो। सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रका पालिका, सामाजिक उत्थान कार्यक्रम समिति, बाढीपीडित संघर्ष समिति लगायत सरोकारवाला पक्षले उठाउँदै आएका मागहरू सम्बोधन गरिनेछ।
२०७९ मा मेलम्ची खानेपानी विकास समितिको गठन आदेश जारी भएयता अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताका कारण आर्थिक वर्ष २०७९/८० यतादेखि रकम निकासा हुन नसकेको थियो। उक्त जटिलता हटाउन स्थानीय तहबाट प्राप्त लिखित सहमति र मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिको निर्णयका आधारमा मस्यौदा तयार गरी सम्बन्धित निकायमा संशोधनका लागि पेस गरिने सहमतिमा उल्लेख गरिएको छ।
यसका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तथ्य–तथ्याङ्क सङ्कलन गरिनेछ। राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइनेछ। समितिमा मेलम्ची खानेपानी विकास समिति तथा स्थानीय पीडित पक्षबाट तीन–तीन जना प्रतिनिधि रहने र तीन महिनाभित्र सबै अध्ययन कार्य पूरा गर्ने सहमति भएको छ।
मेलम्ची प्रभावित क्षेत्रमा विभिन्न बाढीका कारण भएको जनधन क्षति, उद्योग–व्यवसाय, कृषि क्षेत्रमा परेको असर तथा स्थानीयको दैनिकीमा परेका प्रभावहरूको विस्तृत अध्ययन गरिनेछ। यस्तै अर्थ मन्त्रालयबाट रोकिएको बक्यौता रकम १५ दिनभित्र निकासा गरिने सहमति भएको छ।
आयोजनाबाट काठमाडौँमा आपूर्ति हुने खानेपानीको परिपूरण निर्धारणका विषयमा यसअघि बनेका समितिहरूका प्रतिवेदनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी ४५ दिनभित्र मन्त्रिपरिषद्मा प्रतिवेदन पेश गरिने छ।
१५ बुँदे सहमतिपत्रमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, स्थानीयबासी तथा सरोकारवाला समूहका प्रतिनिधि तथा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन्। सहमति सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा सम्पन्न भएको हो।

