नुवाकोटमा अविरल झरीले तीन हजार हेक्टरभन्दा बढी धानबाली नष्ट, १८ करोडभन्दा बढी क्षति



नुवाकोट,कात्तिक २६ । नुवाकोटमा पाँच दिनसम्म लगातार परेको अविरल झरीका कारण किसानहरू ठूलो संकटमा परेका छन्। लगातारको वर्षाले जिल्लाभरिका तीन हजार एकसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएका धानबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ।

कार्यालयका अनुसार झरीका कारण किसानलाई करिब १८ करोड ४५ लाख ६४ हजार एकसय २४ रुपैयाँ बराबरको धानबाली क्षति पुगेको छ। काटिएको तथा काट्न तयार अवस्थामा रहेका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरूको वर्षभरिको परिश्रम बप्तास गएको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख केशव खनालका अनुसार झरीले ८६ दशमलव ७३ मेट्रिक टन धान नष्ट भएको छ। उनले नुवाकोटमा यो वर्ष १२ हजार ७५३ हेक्टर जमिनमा विभिन्न जातका धान रोपिएको जानकारी दिए।

सबैभन्दा बढी क्षति विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, पञ्चकन्या, ककनी, लिखु र शिवपुरी गाउँपालिका क्षेत्रमा पुगेको छ। यस्तै तादी, तारकेश्वर, सूर्यगढी, किस्पाङ र दुप्चेश्वर गाउँपालिकाका किसान पनि प्रभावित भएका छन्।

किसानहरू अहिले क्षतिपूर्ति तथा राहतको अपेक्षामा रहेका छन्, भने सम्बन्धित निकायले क्षतिको थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्