सुनसान गाउँमा जीवन फर्काउँदै भीमफेदीका १९ वर्षिय प्रतीक नेपाल, होमस्टे व्यवसायको पर्यटन सम्भावना
मकवानपुर,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सुपिङ गाउँ वर्षौंदेखि बसाइँसराइका कारण सुनसान बन्दै गएको थियो । विदेशिन थालेका युवाहरू, बन्द घरहरू, बाँझा खेतबारी र कम हुँदै गयो गाउँको चहलपहल । तर यसै सुनसान गाउँमा १९ वर्षीय प्रतीक नेपालले नयाँ जीवन भर्नुभएको छ ।
थाहा नगरपालिकाका स्थायी घर भएका प्रतीकले गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै सुपिङमा आकर्षक होमस्टे सञ्चालनमा ल्याउनुभएको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण, मौलिक जीवनशैली भएको यो गाउँमा घुमफिरका क्रममा पुगेपछि उहाँले पर्यटनको अपार सम्भावना देख्नुभयो ।
गाउँका खाली घरहरूलाई मर्मत–संभार गर्दै होमस्टेमा रूपान्तरण गर्न प्रतीकले विदेशीएका घरधनीहरूसँग अनुमति लिए । घरको हेरचाह हुने र केही आम्दानी पनि हुने भएपछि घरधनीहरूले सहयोग गरे । त्यसपछि प्रतीकले १० रोपनी क्षेत्रफल भाडामा लिएर ४०–५० अतिथि अनुपातमा बस्न मिल्ने होमस्टे सञ्चालनमा ल्याउनुभयो ।
पहिले बुट्यान र सिस्नोले ढाकिएका पुराना घर अहिले सेतो कमेरो र रातो माटोले लिपिएका आकर्षक संरचना बनेका छन् । ढुंगेधारो शैलीका धारा, पुराना सन्दुक, जाँतो, ठेकी, हलोजस्ता परम्परागत सामग्रीले होमस्टेलाई मौलिक र विशेष बनाएको छ । फलफूलका बगैचा, स्वच्छ वरिपरि र हरियाली वातावरणले घरको रूप नै फेरिएको छ ।
होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रुक, दाल, अन्नसबै स्थानीय उत्पादन मात्रै प्रयोग गरिन्छ । यसले गाउँका किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । स्थानीय युवाले रोजगारी पाएका छन् । एक समय सुनसान बस्ती अहिले पर्यटकहरूको आगमनले फेरि जीवन्त बन्दै गएको छ ।
पर्यटन व्यवसायमै लागिरहनुभएका प्रतीकका बुबा देवेन्द्र नेपालले छोराको योजनालाई प्रोत्साहन गर्दै होमस्टे सञ्चालनमा सहयोग गर्नुभएको छ । सुपिङबाट मनमोहक सूर्यास्त, नजिकैको भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी, हात्तिसारजस्ता ऐतिहासिक तथा धार्मिक महत्वका स्थल नजिकै भएकाले यहाँ घुम्न आउनेको संख्या बढेको छ ।
प्रतीकले सुरु गरेको यो प्रयासले गाउँको स्वरूप मात्र बदलिएको छैन, वर्षौंदेखि सुनसान बनेका घरहरू फेरि चहलपहलमय भएका छन् । गाउँमै बसेर पनि ठूलो काम गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश समेत सुपिङ बसेर प्रतीक नेपालले दिनुभएको छ ।

