नुवाकोट लिखुको सिद्धि गणेश आधारभूत विद्यालयमा जर्मनी संस्थाद्वारा पोशाक तथा शैक्षिक सामग्री वितरण
नुवाकोट, कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकमा अवस्थित श्री सिद्धि गणेश आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई जर्मनीको संस्था केयर फर चिल्ड्रेन ले न्यानो पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय प्राङ्गणमा बुधबार आयोजित कार्यक्रममा बालबालिकालाई न्यानो कपडासहित आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा स्कटल्याण्ड निवासी मोहन घिमिरे र लिखु गाउँपलिकाका उपाध्यक्ष सुभद्रा अधिकारीको प्रमुख उपस्थिति रहेको थियोे ।
नुवाकोटका विभिन्न गाउँपालिकाका विद्यालयहरूलाई लक्षित गर्दै कार्य गर्दै आएको संस्थाले यसअघि ककनी, शिवपुरी र पञ्चकन्या गाउँपालिकाका विद्यालयमा पनि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिसकेको छ। हालसम्म नुवाकोटमा मात्र ७१० विद्यार्थीले सो सहयोग पाइसकेका छन्।
शिवपुरी–७ का ग्रामीणदेवी माध्यमिक विद्यालय, कुम्भेश्वर माध्यमिक विद्यालय र पञ्चकन्याको बच्छला माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आइतबार नै न्यानो कपडा वितरण गरिएको थियो। संस्थाले नुवाकोट र गोरखाका विभिन्न विद्यालय गरी ७७० विद्यार्थी, १०६ शिक्षक तथा २४ भान्सेले न्यानो पोशाक प्राप्त गरिसकेको जानकारी दिएको छ। झण्डै १५ लाख रुपैयाँको लागतमा सञ्चालन गरिएको कार्यक्रमले पहाडी क्षेत्रमा कठ्याङ्ग्रिने जाडोमा बालबालिकाले सहजै विद्यालय जान सहयोग पुगेको बताइएको छ।
केयर फर चिल्ड्रेनले विद्यालयहरूमा दिवा खाजा, पोशाक, झोला, जुत्ता, स्टेशनरी सामग्रीलगायत शैक्षिक सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ। संस्थाले आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत आर्थिक सहयोग पुर्याइरहेको छ।
हालसम्म ककनी, पञ्चकन्या, शिवपुरी, लिखु गाउँपालिकाका विद्यालय तथा गोरखाका केही विद्यालय गरी १० विद्यालयलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन भइरहेका छन्। संस्थाका अनुसार करिब १,००० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्, साथै शिक्षक र अभिभावकहरू समेत अप्रत्यक्ष रूपमा फाइदा पाएका छन्।
विद्यार्थीलाई दैनिक दिवा खाजा उपलब्ध गराउँदै आएको संस्थाले प्रति विद्यार्थी १५ रुपैयाँका दरले खाजाको खर्च सहयोग गर्छ। विद्यालयहरूमा स्थायी भान्से नियुक्त गर्नुका साथै उनीहरूलाई पौष्टिक तथा स्वच्छ खाना पकाउने तालिम पनि प्रदान गरिँदै आएको छ। हालै शिवपुरी र पञ्चकन्याका ११ भान्सेलाई प्रसिद्ध सेफ सुरेश गमालबाट पाककला तालिम दिइएको थियो।
सन् २००० बाट सुरु भएको दिवा खाजा कार्यक्रमले २५ वर्ष पूरा गरेको संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले बताए। “हामी देश–विदेशमा रहेका सहयोगीहरूसँग सहकार्य गर्दै शिक्षा तथा पोषण क्षेत्रमा निरन्तर योगदान गरिरहेका छौँ,” उनले भने।
संस्थाका अनुसार, ग्रामीण विद्यालयका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुधारमा संस्थाको दीर्घकालीन कार्यक्रमले उल्लेखनीय प्रभाव पारेको छ।

