छहरे महोत्सवबारे थान्सिङमा स्थानीय युवा–आयोजकबीच सहमति, बिगतका कमजोर पक्ष सच्याउँदै महोत्सव मनाइने
नुवाकोट,कात्तिक २६ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङमा आगामी मंसिर ३ देखि १३ गतेसम्म हुने छहरे महोत्सवका विषयमा स्थानीय युवासँग विभिन्न सहमति जुटाइएको छ। गत वर्षको महोत्सवमा देखिएको आर्थिक हिनामिना, व्यवस्थापन कमजोरी र स्थानीय स्तरमा बढेको टिकाटिप्पणीका कारण यस वर्ष महोत्सव रोकिने चर्चा चलेपछि आयोजक समितिले बुधबार स्थानीयहरूसँग विशेष छलफल गरेको हो।
गत वर्ष महोत्सवको नाममा ‘कमाइमुखी गतिविधि बढ्यो’ भन्ने स्थानीयको आरोपपछि आलोचना चर्किंदै गएको थियो। त्यसपछि आयोजक संस्था लोक सास्कृतिक प्रतिष्ठाका अध्यक्ष नवराज ढुंगानाको नेतृत्वमा थान्सिङमा भएको छलफलमा बिगतका विवाद नदोहोरिने प्रतिवद्धता व्यक्त गरिएको छ।
छलफलमा बिगतको कार्यक्रमका मुख्य हिस्सेदारहरुलाई यस वर्ष स्टेजमा नचढाउने निर्णय गरिएको स्थानीय युवा प्रकाश डंगोलले बताए। यसलाई पारदर्शिता र स्थानीय सहभागितालाई प्राथमिकता दिने प्रयासको रूपमा हेरिएको छ।
यस वर्षको महोत्सवमा आधा घण्टा स्थानीय कलाकारलाई प्रदर्शनका लागि स्टेज दिइने सहमति भएको छ। साथै स्थानीय व्यापारी तथा व्यवसायीलाई ४० प्रतिशत सहुलियत प्रदान गरिने र शिवपुरी, पञ्चकन्या तथा लिखुका कृषकलाई १० वटा स्टल निशुल्क उपलब्ध गराइने निर्णय गरिएको छ।
यसबाहेक गत वर्षको महोत्सवपछि सञ्चारमाध्यममा उठेको बाँकी रकमको विषयमा तत्कालीन आयोजकले छिट्टै स्पष्टिकरण दिनुपर्ने, र रकम तिर्नुपर्ने भए सोही समितिबाट जिम्मेवारी पुरा गर्नुपर्ने सहमति पनि जुटाइएको छ।
स्थानीयले यस वर्षको महोत्सवलाई पारदर्शी, समावेशी र स्थानीय हितमुखी बनाउनुपर्ने माग राख्दै आएका थिए। छलफलपछि आयोजक र स्थानीयबीच बनेको सहमतिले महोत्सव सफल रूपमा सम्पन्न हुने अपेक्षा बढाएको छ।सहमतिसंगै स्टल निर्माण कार्यले तिव्रता पाएको छ।

