चार दिनदेखि सिमकोट अन्धकारमा, हिल्दुम जलविद्युत् केन्द्र मर्मतका कारण विद्युत् आपूर्ति ठप्प
हुम्ला,कात्तिक २७ । हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि पूर्ण रूपमा अन्धकारमा डुबेको छ। सदरमुकाममा रहेका एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आउँदा विद्युत् आपूर्ति बन्द भएको हो।
विद्युत् अवरुद्ध भएपछि दैनिक जीवनदेखि कार्यालयीन कामसम्म सबै प्रभावित भएका छन्। अन्य वैकल्पिक स्रोत नहुँदा सिमकोटका सरकारी तथा निजी कार्यालयहरूमा कामकाज ठप्प जस्तै भएको छ। केही कार्यालयले सौर्य ऊर्जाको प्रयोग गरे पनि हिउँद याममा घाम नलागेकाले पर्याप्त ऊर्जा उपलब्ध हुन नसकेको जनाइएको छ।
सञ्चारकर्मी नरजङ तामाङका अनुसार विद्युत् नहुँदा मोबाइल र ल्यापटप चार्ज गर्न नसक्दा समाचार संकलन र सम्प्रेषणमा समेत समस्या भएको छ। “घाम नलाग्दा सोलार पनि चलेको छैन, सञ्चार उपकरण चलाउन मुस्किल भइरहेको छ,” तामाङले बताए।
हिल्दुम जलविद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृह र अन्य संरचनामा मर्मत आवश्यक भएकाले अस्थायी रूपमा आपूर्ति बन्द गरिएको हो। उहाँका अनुसार मर्मत कार्य तीव्र गतिमा भइरहेको छ र शनिबारसम्म पुनः आपूर्ति सुरु गर्ने योजना छ।
यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मत स्थलमा पुगेर तत्काल मर्मत कार्य पूरा गर्न निर्देशन दिएका छन्। उनले मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थान मर्मत कार्य पनि सम्पन्न भएको जनाएका छन्।
स्थानीयवासीले लामो समयदेखि निरन्तर विद्युत् आपूर्ति नहुँदा दैनिक जीवन कष्टकर बनेको गुनासो गरेका छन्। उनीहरूले मर्मत कार्य शीघ्र सम्पन्न गरी स्थायी समाधान खोज्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

