जी–७ का विदेशमन्त्रीहरूको आह्वान : युक्रेनमा तत्काल युद्धविराम र सुडानको मानवीय सङ्कटप्रति गम्भीर चिन्ता
क्यानाडा, कात्तिक २७ । क्यानाडामा सम्पन्न जी–७ का विदेशमन्त्रीहरूको बैठकले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो मानवीय सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरू सहभागी बैठकले संयुक्त विज्ञप्तिमार्फत युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको समर्थन पुनः दोहोर्याएको हो।
विज्ञप्तिमा युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै जी–७ देशहरूले युद्धविरामका लागि सबै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन्। उनीहरूले रूसको आक्रमणविरुद्ध युक्रेनको सुरक्षाका लागि आर्थिक तथा प्राविधिक सहयोग बढाउने विषयमा छलफल गरेको जनाइएको छ।
वार्तामा आमन्त्रित युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले जी–७ देशहरूलाई युक्रेनको युद्ध क्षमतामा अझ बलियो बनाउने र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि थप दबाब सिर्जना गर्न आग्रह गर्नुभएको थियो। उहाँले पुटिनलाई अझै पनि ‘जित्न सक्ने भ्रम’ रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायले एकजुट भएर रूसको आक्रमणलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।
यसअघि क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमणमा संलग्न संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो। उता, बेलायतले युक्रेनको ऊर्जा पूर्वाधार मर्मतका लागि १३ मिलियन पाउन्ड (झन्डै १७.१ मिलियन अमेरिकी डलर) को सहायता कोष घोषणा गरेको छ।
यसैबीच, जी–७ ले सुडानमा जारी हिंसाको पनि कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट निम्त्याएको बताइएको छ। अप्रिल २०२३ देखि सुरु भएको द्वन्द्वका कारण हालसम्म दशौँ हजारको ज्यान गएको र करिब एक करोड २० लाख मानिस विस्थापित भएको जनाइएको छ।
आरएसएफले हालै पश्चिमी दारफुरको एल–फासेर क्षेत्र कब्जा गरेपछि सामूहिक हत्याका घटनाहरूसमेत बाहिरिएका छन्। यस घटनापछि जी–७ बैठक बसेको हो। जी–७ ले दुबै पक्षलाई तनाव कम गर्न, स्थायी युद्धविरामका लागि प्रतिबद्ध हुन र मानवीय सहायता सहज रूपमा पुग्ने सुनिश्चितता गर्न आग्रह गरेको छ।
बैठकमा सहभागी देशहरूले संयुक्त राष्ट्रसंघ, अफ्रिकी संघ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्दै युक्रेन र सुडान दुवै क्षेत्रमा शान्ति र स्थायित्वका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

