नुवाकोट तारकेश्वर गाउँपालिकाद्वारा सामुदायिक अस्पताल निर्माणका लागि पाँच लाख सहयोग



नुवाकोट, कात्तिक २७ । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले सामुदायिक अस्पताल निर्माणका लागि गाउँपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ।

बेलकोटगढी नगरपालिका, महादेवफाँटमा आयोजित श्रीमद्भागवत् महापुराण सप्ताहको समापन समारोहमा अध्यक्ष अधिकारीले मंगलबार अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणाको कार्यान्वयनस्वरूप उहाँले बिहीबार गाउँपालिका कार्यालयमा आयोजक समितिका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

अध्यक्ष अधिकारीले आफ्ना स्वर्गीय पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको सम्झनामा व्यक्तिगत रूपमा ५१ हजार ११० रुपैयाँ दान गर्नुभएको थियो। उहाँले सीमावर्ती क्षेत्रमा निर्माण हुन लागेको र तारकेश्वर गाउँपालिकाका बासिन्दा समेत लाभान्वित हुने अस्पताललाई गाउँपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो।

गाउँपालिकाको यस सहयोगले सामुदायिक अस्पताल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। अध्यक्ष अधिकारीले स्वास्थ्य सेवा पहुँचका लागि स्थानीय तहबीचको सहकार्य आवश्यक रहेको बताउँदै सामुदायिक हितका यस्ता अभियानमा गाउँपालिका निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्