प्रधानमन्त्री कार्की : सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध
काठमाडौं, कात्तिक २७ — प्रधानमन्त्री सुशीला कार्कीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायका कार्यप्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
उहाँले सार्वजनिक सेवामा निष्पक्षता, सहजता र सेवाग्राहीमैत्री प्रणाली कायम गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई सूक्ष्म निगरानी र अनुगमनमा अझ सशक्त भूमिका खेल्न निर्देशन दिनुभयो। “सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सार्वजनिक निकायबाट सम्पादन भएका काम कारबाही निष्पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए–नभएको सूक्ष्म निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रले थप पहल गर्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनका क्रममा मन्त्रिपरिषद् कार्यालयसहित अन्य भौतिक सम्पत्तिमा भएका क्षतिको विस्तृत विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो। साथै, सबै निकायमा भएको क्षतिको एकीकृत प्रतिवेदन तयार गर्न पनि उहाँले आदेश दिनुभयो।
विद्युतीय खरिद प्रणालीलाई सार्वजनिक खरिद प्रक्रियासँग जोडिएको संवेदनशील विषय भन्दै उहाँले आवश्यक उपकरण खरिदको कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।
त्यसैगरी नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी र अन्य सम्बद्ध निकायले गरेका काम कारबाहीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय र अनुगमन गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।

