नुवाकोट जिल्लास्तरमा स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिका पहिलो



नुवाकोट,कात्तिक २७ — स्वास्थ्य कार्यालय नुवाकोटद्वारा कात्तिक २६ र २७ गते आयोजित वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य सेवा सूचक र प्रस्तुतिकरण मूल्यांकनका आधारमा विदुर नगरपालिका जिल्लामै पहिलो हुने गौरव हासिल गरेको छ।

स्वास्थ्य सूचकमा उत्कृष्ट उपलब्धि हासिल गर्न विदुर नगरपालिका सफल हुनुमा स्वास्थ्य शाखाको नेतृत्वमा कार्यरत स्वास्थ्य संस्था, विद्यालय नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत र समर्पण प्रमुख कारण रहेको बताइएको छ।

स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले यस सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख राजन श्रेष्ठ, उप–प्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्था व्यवस्थापन समिति पदाधिकारी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले जिल्ला स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिकालाई पहिलो घोषणा गर्न सहयोग पुर्‍याउने जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारी, मूल्यांकन समिति संयोजक अमृत महर्जनलगायत सम्पूर्ण टोलीप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो।

शाखा प्रमुख भण्डारीले आगामी दिनमा पनि विदुर नगरपालिकामा स्वास्थ्य सेवाको स्तर सुधार गर्दै उत्कृष्टताको परम्परा निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्