नेपाल र बंगलादेशबीचको फिफा मैत्रीपूर्ण खेल बराबरीमा समाप्त



काठमाडौं,कात्तिक २७ — नेपाल र बंगलादेशबीच ढाकास्थित नेशनल स्टेडियममा भएको फिफा मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको छ।

नेपालले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा दुई गोल खाँदै पछाडि परेको खेल अन्तिम मिनेटमा अनन्त तामाङले गरेको गोलका कारण बराबरीमा टुंगिएको हो।

नेपालका रोहित चन्दले खेलको २९औँ मिनेटमा सुमित श्रेष्ठको कटब्याक पासलाई पेनाल्टी बक्स बाहिरबाट गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा नेपालले अग्रता जोगाएको थियो।

तर दोस्रो हाफमा घरेलु टोलीका स्टार खेलाडी हम्जा चौधरीले चम्कँदै ४६औँ र ४९औँ मिनेटमा दुई गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए। पहिलो गोल उनले कप्तान जमाल भुइँयाको पासमा एक्रोब्याटिक किकमार्फत गरे भने दोस्रो गोल पेनाल्टीमार्फत सहज रूपमा पूरा गरे।

नेपालले खेलको ६२औँ मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो। दिनेश हेन्जनले गरेको क्रसलाई बंगलादेशका गोलकिपरले पन्च गरे पनि लकेन लिम्बुले त्यसलाई सदुपयोग गर्न सकेनन्।

खेलको अन्त्यमा थप गरिएको ३ मिनेटको समयको अन्तिम मिनेटमा दिनेश हेन्जनको कर्नर पासलाई अनन्त तामाङले ब्याकफुटले किक गर्दै गोल गरेपछि नेपाल हारबाट जोगिएको हो।

यसअघि नेपाल र बंगलादेशबीच गत भदौमा दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो भने दोस्रो खेल जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्