मधेश प्रदेशसभाका पाँच सदस्य पदमुक्त, सभामुखमाथि अविश्वास प्रस्ताव दर्तापछि कदम



काठमाडौं,कात्तिक २८ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ। सभामुखले संविधान र नियमावलीअनुसार स्वतः पद रिक्त भएको उल्लेख गर्दै प्रदेशसभा सचिवालयमार्फत सूचना जारी गर्नुभएको हो।

पदमुक्त हुनेमध्ये नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जनता समाजवादी पार्टी (जसपा)का मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्करप्रसाद कलवार रहेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार नेपालको संविधानको धारा १८० (घ) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम अनुपस्थित सांसदहरूको पद स्वतः रिक्त भएको छ।

यसबीच, सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले हिजो अविश्वास प्रस्ताव दर्ता गरेका थिए। कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत संसदीय दलका नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनअनुसार सभा सञ्चालन गरेको र विपक्षी दलको उपस्थितिबिना बैठक अघि बढाएको आरोपसहित सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

अविश्वास प्रस्ताव दर्ताको २४ घण्टा नबित्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णयलाई प्रदेशसभामा नयाँ राजनीतिक सरगर्मीको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्