नेपाल प्रिमियर लिग–२ का लागि टिकट दर सार्वजनिक
काठमाडौं,कात्तिक २८ । नेपाल प्रिमियर लिग (एनपीएल)–२ का लागि टिकट दर सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो संस्करणका खेलका लागि विभिन्न दर निर्धारण गरिएको हो।
उद्घाटन खेल तथा शनिबारका खेल हेर्न साधारण टिकट ५ सय रुपैयाँ तोकिएको छ। प्रिमियम (भीआईपी) श्रेणीको टिकट भने १५ सय रुपैयाँ पर्ने क्यानले जनाएको छ।
अन्य समूह चरणका खेलमा साधारण टिकट ५ सय र भीआईपी टिकट १ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्लेअफ तथा फाइनल खेलका लागि साधारण प्रवेश १ हजार रुपैयाँ र भीआईपी टिकट २ हजार रुपैयाँ निर्धारण गरिएको छ।
क्यानका अनुसार सिजनभरका सबै खेल हेर्न सिजन पास १५ हजार रुपैयाँमा उपलब्ध रहनेछ। टिकट बिक्री खल्ती र आईएमई पे एपमार्फत गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।


